सामुदायिक विद्यालयका समस्याका विषयमा कुरा गर्दा धेरै शिक्षकले उठाउने समस्याहरु अभिभावक, संघीय सरकार (विशेष गरी संघीय शिक्षा ऐन) र स्थानीय सरकारका कार्यशैलीसँग सम्बन्धित रहको पाइन्छ।धेरै समस्याहरु यी विषयसँगै सम्बन्धित भएको यथार्थलाई नकार्न पनि सकिन्न।तर यी समस्याहरु देखाएर हामी शिक्षकले कक्षाकोठाको सिकाइ सुधार गर्न नसकेको कुरालाई ढाकछोप गर्न मिल्दैन/हुँदैन।सबैभन्दा सुरुमा हामी शिक्षकहरुले विद्यार्थीलाई जति सिकाउनु पर्ने हो त्यति सिकाउन नसकेकै हो भनेर स्वीकार गर्नुपर्छ।अर्को शब्दमा सकरात्मक परिवर्तनको लागि शिक्षकले सिकाइका तौरतरिकाहरुको सुक्ष्म विश्लेषण वा स्वःमूल्याङ्कन गर्न जरुरी छ भन्न पनि सकिएला।
सर, आज के सिकाउन कक्षामा जादै हुनुहुन्छ ?
कक्षामा प्रवेश गर्ने बेलामा विद्यालयको प्रधानाध्यापक वा अन्य कसैले सर, आज के सिकाउन कक्षामा जादै हुनुहुन्छ भनेर सोधे भने जवाफ के आउला? तयारी गरेको शिक्षकले त आज यो सिकाउन जाँदै छु त्यसको लागि म सँग यी सामाग्री छन् वा यस्तो योजना छ भनेर जवाफ देला।जसले कक्षामा गएर ल किताब निकाल भाइबहिनीहरु, कुन पाठमा पुग्यो भनेर सोध्ने अनि कुर्सीमा बसेर ल यो पढ भन्ने बिचारले गएको थियो उसले दिने जवाफ के आउला? तयारी नगरी कक्षामा जाने शिक्षकले के सिकाउने भन्ने प्रश्नको जवाफ दिन सक्ने कुरै भएन।वहाँले, यत्रो वर्ष भयो पढाएको मलाई नयाँ शिक्षकले जस्तो तयारी किन गर्नुपर्यो, मलाई यो किताब कण्ठै छ भन्ने जवाफ पनि दिन सक्नुहुन्छ।बुझाइमा समस्या सायद यही नै हो।म आफैलाई पनि अङ्ग्रेजी बोल्न जानेकै छु, जस्ता विद्यार्थी पनि पढाउन सक्छु जस्तो लाग्थ्यो तर अहिले ती सबै मेरा भ्रम रहेछन् भन्ने अनुभुति भएको छ।मेरो ज्ञान र योग्यताले विद्यार्थीको सिकाइमा सहयोग गरेन भने मैले जति पढे पनि विद्यार्थीको लागि त्यसको के अर्थ रहन्छ र।आजकल कुनैपनि शिक्षकमा योग्यताको कमी भएजस्तो लाग्दैन।तर स्नातकोत्तर गरेका शिक्षकलाई पाठ्यक्रमले तहगत सक्षमता के राखेको छ, एकीकृत पाठ्यक्रमको थिमगत सिकाइ उपलब्धि भनेको के हो भन्ने विषयतिर मतलब नै छैन।म जान्ने छु त्यसैले त आयोग पास गरेर आएको।मेरो योग्यता माथि प्रश्न उठाउने तँ को होस् भन्ने उत्तर पनि पाइन्छ।माफ गर्नुहोला, आयोग पास गर्नु, विश्वविद्यालयको उच्चतम डिग्री हासिल गर्नु र विद्यार्थीलाई सिकाउन सक्नु फरक कुरा हुन्।त्यो डिग्री बिस्तारै आफ्नै लागि त काम नलाग्ने हुन्छ भने विद्यार्थीको लागि के काम लाग्छ होला र।
अर्को सुनिन्छ कोर्स सक्ने कुरा।कोर्स सक्नु भनेको किताब पढाएर र अभ्यास गराएर सकाउनु पर्यो बांकी (जे सुकै होस्) विद्यार्थीले गर्ने हो भन्ने मानसिकता हामीसँग अझै छ।सामान्य भाषामा कोर्स सकाउनु भनेको विद्यार्थीले कुनै कक्षामा जुन सक्षमताहरु हासिल गर्ने अपेक्षा पाठ्यक्रमले राखेको छ, ती पुरा हुनुपर्यो।यसको लागि आफैलाई प्रश्न सोध्नुपर्यो,कक्षामा जानु अगाडि हामीसँग आफुले सिकाउन खोजेको पाठ्यबस्तुका विषयमा यथेष्ट ज्ञान छ कि छैन? विद्यार्थीले यो पाठ्यवस्तुमा प्रश्न गर्न सक्छन् कि सक्दैनन्? मैले हिजो यो पाठ्यबस्तु सुरु गर्ने भन्दा विद्यार्थीका अपेक्षा के थिए? सिकाइ दिगो बनाउन मैले के सामाग्री प्रयोग गर्न सक्छु? यस्ता आधारभुत विषयमा हाम्रो तयारी भएकै हुँदैन।कुन विद्यार्थीको सिकाइ कस्तो अवस्थामा छ भनेर व्यक्तिगत अभिलेख वा कार्यसञ्चयिका व्यवस्थापन गर्ने त झन् परको कुरा भयो।
अस्ति भर्खर पढाको बिर्सिसकिस्?
अति सामान्यिकरण गरेको जस्तो लाग्न सक्छ तर मैले देखेका अधिकांश विद्यालयमा प्रभावकारी सिकाइ भएकै छैन।अलिअलि भएपनि दिगो भएको छैन।बिर्सिनु सिकाइको एउटा पाटो पनि होला सायद।Alvin Toffler ले learn, unlearn and relearn भनको त्यसै कारणले हुनसक्छ।आज सिकेको कुरा भोलि काम नलाग्ने हुनसक्छ।त्यसलाई unlearn गर्नुपर्ने होला।चाहिने कुरा थियो तर स्मृतिमा बसेन भने relearn गर्नुपर्ने होला।यो विद्यार्थी र शिक्षक दुवैको हकमा खासै फरक हुँदैन।विद्यार्थीमा आधारभुत कुराहरुको सिकाइ नै दिगो भएन भने जग बलियो हुने अपेक्षा गर्न सकिदैन।जग बलियो नभएपछि समालोचनात्मक चिन्तन र सिर्जनात्मक अभ्यासको कल्पना गर्नु मुर्खता हुन जान्छ।आधारभुत तहमा के सिक्नुपर्ने र माध्यमिक तहमा के सिक्नुपर्ने शिक्षकलाई जानकारी त हुनै पर्छ होला नि।पाठ पढाएर उत्तर लेखाएर अनि घोक्न लगाएर विद्यार्थीको सिकाइ दिगो नभएको बोध गर्ने कि आजकलका केटाकेटीले केही सम्झिदैनन् भनेर गाली गर्ने? आधुनिक समाजमा विद्यार्थीलाई "डिस्ट्रयाक्ट" गर्ने कुराहरु धेरै छन्।यो तथ्यलाई नकार्न खोजेको पनि होइन।तर विद्यार्थीको सूचना र सिकाइको स्रोत पनि त फराकिलो भएको छ नि।यो अवस्थामा हामीले पढाएको कुरा विद्यार्थीको जीवनमा कतै जोडिएकै छैन भने त्यसको अभ्यास हुँदैन।अभ्यास नभएपछि बिर्सनु त मानव मस्तिस्कको बिशेषता नै हो।यसमा पनि हामी विद्यार्थीलाई नै दोष लगाउदै छौं।
उदाहरणको लागि अङ्ग्रेजी विषय पढाउने शिक्षकको मुख्य उद्देश्य किताब पढाएर सकाउने हो कि विद्यार्थीलाई अङ्ग्रेजी भाषाका आधारभुत सीपहरु सिकाउने? हुनुपर्ने त भाषाका आधारभुत सीपहरु सिकाउने नै हो तर त्यस्तो भएको देखिदैन।माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकहरुको गुनासो छ कि विद्यार्थीहरु सामान्य वाक्य पढ्न नसक्ने अवस्थामा कक्षा ९ मा पुगेका छन्।कक्षा ८ कसरी उत्तीर्ण भए भन्ने प्रश्नको उत्तर लेख्दा विषयान्तर हुनसक्छ।अन्य कुनै दिन चर्चा गरौंला।कक्षा ९-१० को पाठ्यक्रममा उल्लेख भएका सक्षमता हेर्ने हो भने शिक्षकलाई चक्कर आउन सक्छ।विद्यार्थीको सिकाइको अवस्था हेर्दा कक्षा ९ का सक्षमता तिर ध्यान दिन सकिने अवस्था नै हुँदैन।परिणामस्वरुप, हाम्रा विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण गर्दासम्म न एउटा निबेदन लेख्न सक्छन् न कुनै समसामयिक विषयमा छलफल र बहस गर्न सक्छन्।किताबमा पढेका पाठहरु बिर्सिन त एक वर्ष पनि लाग्दैन।अनि हामी नै प्रश्न गर्छौं, अस्ति भर्खर पढाको बिर्सिसकिस्? चाहिने कुरा सिकाएको भए पो निरन्तर अभ्यास गर्छ र सम्झिन्छ।विद्यार्थीलाई यति त पक्का थाहा छ कि किताबका पाठ सम्झेर केही हुनेवाला छैन।भाषा स्पस्ट बोल्न सिक्यो भने त्यो सिकाइ होला।आफै वाक्य संरचना गरेर इमेल लेख्न सक्यो भने,समसामयिक विषयमा आफ्ना धारणा राख्न सक्यो भने,समालोचनात्मक चिन्तनको विकास गर्न सक्यो भने, आफूलाई आवश्यक विषयहरुमा इन्टरनेट वा अन्य स्रोतहरुबाट अध्ययन तथा अनुसन्धान गर्न सक्यो भने पो सिकाइ होला त।निरन्तर अभ्यास होला, अनि विद्यार्थीले आवश्यक सिकाइलाई बलियो बनाउदै जाला अनि अनावश्यकलाई हटाउदै जाला।
प्रभावकारी सिकाइका लागि योजना चाहिन्छ
आफ्नो पेशामा समर्पित शिक्षकको लागि प्रतिबिम्बन जति महत्वपूर्ण पक्ष सायद अरु कुनै छैन जस्तो लाग्छ।मैले विद्यार्थीलाई कति सिकाउन सकेँ ? विद्यार्थीलाई परेको समस्या के हो ? मैले निर्माण गरेका सामाग्रीहरुले विद्यार्थीका समस्या समाधान गर्न सहयोग गरे कि गरेनन् ? विद्यार्थीहरु मेरो बारेमा के भन्छन् ? यस्ता प्रश्नहरु आफैलाई सोधेर शिक्षकले प्रतिबिम्बन गर्न जरुरी छ।समस्याको पहिचान भएपछि सिकाइको लागि आवधिक योजना बनाउन सकिन्छ।क्रियाकलापहरु निर्माण गरी सिकाइ सहजीकरणका कार्यहरु गर्न सक्यो भने केही परिवर्तन अवस्य गर्न सकिन्छ।
विद्यालय देखि विश्वविद्यालयसम्म शिक्षकले सिकाइ योजना बनाएको र समयानुकुल परिवर्तन गरेको बिरलै देख्न पाइन्छ। एम फिल तहमा पढाउने प्राध्यापकले तयारी नै नगरी कक्षामा आएकोले अति भएपछि प्राध्यापक नै परिवर्तन गर्नुपरेको नमिठो अनुभव म आफै सँग छ। धेरै वर्ष अगाडि बनाएका पावरपोइन्ट स्लाइडहरु कतिपय प्राध्यापक गुरुहरुले अझै प्रयोग गर्दै हुनुहुन्छ।प्राध्यापकज्यूहरु प्रति मेरो उच्च सम्मान छ तर विद्यार्थी फरक भएपछि क्षमता फरक होलान् अनि अपेक्षा पनि फरक नै होलान्।विद्यार्थीका अपेक्षा र आधुनिक प्रविधिले सिर्जना गरेका चुनौतिहरुलाई हाम्रो सिकाइ योजना र तयारीले सम्बोधन गर्न सक्नुपर्छ।
हामी शिक्षकले आफूले सिकाउन नसकेको दोष राज्यको नीति, अभिभावकको गैरजिम्मेवारी,शिक्षकका सेवा सुविधामा राज्यले गरेको बिभेद जस्ता विषयहरु माथि थोपर्न मिल्दैन जस्तो लाग्छ।राज्यको तर्फबाट अवस्य पनि थुप्रै कमजोरी भएका छन्।सामुदायिक विद्यालयमा अभिभावकको भूमिका अति कमजोर छ।पेशागत विकास र बढुवाको प्रणाली दयनीय छ।यी सबै फरक बहसका विषयहरु होलान् अथवा धेरै मुद्दाहरु सिकाइका बृहत क्षेत्रहरु र पाठ्यक्रमलाई सांस्कृतिक तथा सामाजिक अवस्थासँग जोड्ने विषयसँग सम्बन्धित होलान्।अरु विषयमा छलफल गर्दै गरौंला।सबैभन्दा पहिले कक्षाकोठामा हामीले (न)गर्ने क्रियाकलापहरुको बारेमा चिन्तन गरौं र सुधार्न प्रयत्न गरौं।अब सुधार गरिएन भने हाम्रा विद्यार्थीले पनि हङ्गेरियन लेखक Fritz Karinthy को रिफण्ड भन्ने नाटकको पात्रले जस्तै विद्यालयमा तिरेको शुल्क फिर्ता माग्न आउन सक्छन्।
रिसानी माफ होस्।नमस्कार।
No comments:
Post a Comment