यहाँ उपस्थित अत्यन्तै निष्ठावान्, समाजसेवी, बौद्दिक व्यक्तित्व, विकासका सम्बाहक, हामी सबैका मुटुका ढुकढुकी तथा अभिभावक (मिल्ने नमिल्ने अरु धेरै विशेषण) आदरणीय व्यक्तित्व श्री ... लाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । औपचारिक कार्यक्रमहरुमा कार्यक्रम सञ्चालकले यस्ता अनेक विशेषणहरु सहित आसन ग्रहण गराएको हामीले सुन्दै देख्दै आएको कुरा हो । विशेष अतिथि, विशिष्ट अतिथि, अतिथिहरु हुँदै यो क्रम यति छोटोमा सकिदैन । कोही छुटेमा कार्यक्रम चल्दै गर्दा आयोजक मध्येको कोही आएर कानेखुसी गर्छन् अनि यो क्रम कहिलेकाहिँ कार्यक्रम सकिने बेलासम्म पनि चलिरहन्छ । आसन ग्रहणको लम्बेतान सूची सकिएपछि भाषणको क्रममा अर्को लम्बेतान सम्बोधन सुरु हुन्छ । यस कार्यक्रमका अध्यक्षज्यू, मलाई अत्यन्तै माया गर्ने र सदैव हौसला प्रदान गर्ने आदरणीय व्यक्तित्व, यस कार्यक्रमका प्रमुख अतिथि श्री ... विषेश अतिथि .... विशिष्ट अतिथि.. (सूची लामो नै हुन्छ) लगायत सम्पूर्णमा नमस्कार । कार्यक्रम उद्घाटन, राष्ट्रिय गान, मौन धारण, स्वागत मन्तव्य हुँदै अतिथिका भाषण बल्ल सुरु हुन्छन् । घन्टौं सम्म मन्तव्यको क्रम चलिरहन्छ र हाम्रा धेरैजसो पट्यारलाग्दा औपचारिक कार्यक्रमहरु सकिन्छन् ।
प्रशंसा कि चाटुकारिता?
समाजमा निश्वार्थ भावनाले अतुलनीय
योगदान दिएका धेरै व्यक्तिहरु हुन्छन् । उनीहरुको प्रशंसा विश्वका जुनसुकै ठाँउमा
गर्ने गरेको पाइन्छ । यस्ता विविध विषयमा औपचारिक कार्यक्रम जरुरी पनि छन् । केही
समय अगाडि गड अफ साइट भनेर चिनिने नेपाली नेत्र चिकित्सक सन्दुक रुइतलाई प्रतिष्ठित
इशा अवार्ड प्रदान गरिएको कार्यक्रममा बहराइनका उच्चपदस्थ व्यक्तित्वहरु उपस्थित
थिए । त्यहाँ कसैले दुई -चार वाक्य भन्दा लामो सम्बोधन गरेको सुनिएन ।
पट्यारलाग्दा विना प्रसंगका भाषण गरेको पनि सुनिएन । हाम्रो चलन त्यो कार्यक्रम
भन्दा धेरै भिन्न हुन्छन् । नेपालमा किसानलाई बीउ वितरण गर्ने कार्यक्रमहरुमा इशा
अवार्ड प्रदान गर्ने कार्यक्रम भन्दा धेरै अतिथि हुन्छन् । कहिलेकाहीँ सहभागी भन्दा
अतिथि धेरै हुन्छन् । धेरैजसोका लामा भाषण त पक्कै हुन्छन्। कार्यक्रम
आयोजकले अतिथिहरुका विषयमा प्रयोग गर्ने शब्दहरुमा चापलुसी प्रष्ट झल्किन्छ ।
व्यक्तिको योगदान अनुसारको प्रशंसा गरिनु गतल हो जस्तो लाग्दैन तर हाम्रा अधिकांश औपचारिक कार्यक्रमहरुमा अति अशोभनीय चापलुसी देखिन्छ ।
भाषणः झेल्नै मुस्किल
भाषण नै नगर्ने वा औपचारिक कार्यक्रममा
भाग नै नलिने त म पनि होइन । कहिलेकाहीँ मञ्चमा आसन ग्रहण गर्नुपरेको पनि छ ।
सकेसम्म मलाई मन्तव्य दिने पालोमा नराख्नुस् भनेर आफै अनुरोध पनि गर्छु । जहाँ
बोल्नै पर्ने छ वा आफ्नो बिचारले केही अर्थ राख्छ, त्यहाँ समय मागेर छोटकरीमा
बोल्छु । मैले सम्बोधनमा कहिल्यै धेरै समय खर्च गर्दिन । तर कतिपयलाई मेरो शैली
अप्रिय पनि लाग्ने रहेछ । मलाई फलानोले अपमान गर्यो, सम्बोधन गरेन भनेको पनि
सुनियो । विद्यालयको वार्षिकोत्सवमा सकेसम्म छोटकरीमा वार्षिक प्रतिबेदन प्रस्तुत
गर्दा पनि करिब २०/२५ मिनेट लाग्ने रहेछ । विद्यालयका वर्षभरीका क्रियाकलाप र
मञ्चमा आसिन व्यक्तिहरु अभिभावकहरुलाई केही सुनाउनै पर्ने कुराहरु राख्दा करिब १
घन्टा समय लाग्ने रहेछ । बोल्दै गर्दा विद्यार्थी र अभिभावकहरुको अनुहारमा अब त
टुङ्ग्याए हुन्थ्यो भन्ने भाव प्रष्ट देखिन्छ। कतिपय कुरा महत्वपूर्ण नै भएपनि
मान्छेको सुन्न सक्ने समयको सीमा हुने रहेछ । प्रतिबेदन प्रस्तुत गर्नुको सट्टा
प्रिन्ट गरेर केही प्रति वितरण गर्दा मन्तव्य छोटो हुने र अभिभावकसँग अन्तरक्रिया
गर्ने समय पाइने भएकोले आगामी वर्षदेखि मन्तव्यको लागि समय अत्यन्तै कम राख्ने
निष्कर्षमा पुगेको छु । आफु सहभागी हुने हरेक कार्यक्रममा सोचिरहेको हुन्छु,
एकोहोरो भाषण पट्यारलाग्दो नै हुन्छ । लामो भाषण सुन्न सबैलाई सकस नै भएको देखिन्छ
। उठेर हिड्न अति नै अभद्र देखिने भएर मात्र धेरैले सुनेको जस्तो देखिन्छ । धार्मिक प्रवचनको विषयमा मेरो खासै अनुभव छैन । जस्तो भावभङ्गी देखिन्छ त्यही प्रकारको रुची त पक्कै पनि रहन्न होला । कतिपय व्यक्तिहरुको अनौठो वाकपटुता हुने भएकोले तुलनात्मक रुपमा अलि लामो समय ध्यानपूर्वक सुन्ने श्रोताहरु पनि देखिन्छन् । ब्यानरमा
अन्तरक्रिया लेखेर भाषण मात्र गर्ने अनौठा कार्यक्रममा असन्तुष्टि त देखिन्छन् तर
खुलेर कसैले प्रश्न उठाएको मैले देखेको छैन । समग्रमा भाषणहरु झेल्न मुस्किल नै हुन्छ ।
एकोहोरो भाषण होइन
अर्थपूर्ण छलफल र बहस
औपचारिक कार्यक्रमका सञ्चालकको सकस आसन ग्रहणमा आएर टुङ्गिदैन । धेरैजसो अतिथिहरु आफ्नो पालो त कुरिरहेका हुन्छन् तर सुरुमा कसले बोल्ने ? मेरो पालो अहिले नै पो आइसक्यो? अपमान भयो । पोर्टफोलियो मिलेन । बिचरा कार्यक्रम सञ्चालकलाई आपत पर्छ । सबैलाई आसन ग्रहण अगाडि र बोल्ने पालो पछाडि चाहिएको छ । मञ्चमा बस्न पाए खादा मालाले गला छोप्न पाए आफुलाई ठुलो मान्छे सम्झिने भ्रम चिर्न सजिलो छैन । छलफल र बहसको सुरुवात गर्न त्यति सजिलो पनि छैन किनभने हामी औपचारिकतामा बानी परेका छौं ।
मन्तव्य अर्थात मनको बिचार प्रस्तुत गर्नु ।
कुनै पनि कार्यक्रममा उपस्थित सबै सहभागीका बिचारहरुलाई उत्तिकै स्थान दिइनुपर्छ ।
सबैका कुराहरु सुनिनु पर्छ । मञ्चमा बस्नेको बिचार दर्जनौं पटक एकोहोरो रटान भएपनि
सुन्नै पर्ने तर भुँइमा बस्नेले बोल्नै नपाउने प्रबृति न त शोभनीय देखिन्छ न उपलब्धिमुलक
नै हुन्छ । बहस र छलफल कतिपय अबस्थामा अलि चर्कै हुन पनि सक्लान् तर कम्तिमा सबैको
बिचारको सम्मान भने पक्कै हुन्छ ।
राज्यका जिम्मेवार निकायमा रहेर काम गर्नेहरुको दिनचर्या हेर्दा नै प्रष्ट हुन्छ कि उनीहरुको दैनिकी त्यही आसन ग्रहण र मन्तव्य मै सकिएको छ । दैनिक जसो औपचारिक कार्यक्रम हुन्छन् । छलफल बिरलै हुन्छन् तर भाषण त हुन्छन् नै । निर्वाचनको बेला हरेक मतदाताको घरघरमा पुग्न भ्याउने जनप्रतिनिधिहरुले जनताको समस्या सुन्ने फुर्सद पाएको देखिदैन । यस्ता औपचारिक कार्यक्रम मात्र घटाउने हो भने जनप्रतिनिधि टोलटोलमा पुगेर जनताका गुनासा सुन्थे होला, खेतबारीमा किसानका दुखसुख बुझ्ने प्रयास गर्थे होला अनि चमत्कार नै भएछ भने विद्यालयमा आएर शिक्षक र विद्यार्थीका कुरा सुन्ने फुर्सद पनि पाउँथे होला । हतारहतार गरिने अनुगमन भन्दा सुपरिबेक्षण र पृष्ठपोषणका कार्यक्रमहरुको लागि समय पाइन्थ्यो होला ।
ठुला मान्छे मात्र होइन हामी
पनि कम त कहाँ छौं र ? जन्मदिन, बिहे, ब्रतबन्ध, पास्नी, गुन्यु चोली, वैवाहिक
वर्षगाँठ जस्ता पारिवारिक कार्यक्रममा पनि हामीलाई सकेसम्म मन्त्री नत्र पालिका
प्रमुखसम्मको व्यक्ति त बोलाउनु नै छ । पसल सुरु गर्दा रिबन काट्न, सहकारीको
साधारण सभामा भाषण गर्न, घरयासी झगडा मिलाउन, विद्यालयमा छात्रबृत्ति वितरण गर्न जस्ता धेरै
कार्यक्रममा बोलाएर हामीले कति समय बर्बाद गरियो यसको निर्मम समीक्षा हुन जरुरी छ
। ठुलै मान्छे नबोलाए छिमेकी र साथीभाईले मेरो इज्जत नै गर्दैनन् भन्ने हाम्रो
मानसिकता पनि ठुला मान्छेको अतिथि मेनिया भन्दा कम विकृत कहाँ छ र ?
एउटा चाइनिज उखान छ मान्छेले बुझ्नका
लागि होइन जवाफ दिनका लागि मात्र ध्यान दिएर सुन्छ । कुनै पनि कार्यक्रममा
कसैलाई सुन्नको लागि मात्र होइन सुनेर प्रतिक्रिया दिने अवसर नदिने हो भने
यस्ता कार्यक्रम अर्थहिन हुन्छन् । नेपालमा धेरैजसो ठुला मान्छेहरुको शैली गज्जबको
छ । आफुले बोलेर सक्ने अनि मलाई अर्को कार्यक्रममा जानुपर्यो भनेर बीचैमा निस्किने
। सुन्ने फुर्सद नै छैन, र सायद आलोचना सुन्ने हिम्मत र धीरता पनि छैन ।
औपचारिक कार्यक्रमको आवश्यकता नै छैन भन्ने
आशयको डिस्कोर्ष मैले सुरु गर्न खोजेको होइन । औपचारिक विधिबाट कार्यक्रम गर्दा
सहभागीहरु व्यवस्थित हुन्छन् र भद्रगोलको अवस्था सिर्जना हुँदैन । तर हामीले गर्ने
औपचारिक कार्यक्रमहरुको कोर्ष करेक्सन भने अत्यन्तै जरुरी छ । एकोहोरो भाषणको चक्र
तोडेर सहभागितामुलक छलफल सुरु गर्न ढिलो गर्नु हुँदैन । पाँच वर्ष जनताको लागि काम
गर्नु भनेर पठाएका जनप्रतिनिधिलाई प्रश्न गर्ने कार्यक्रम गरौं । विद्यार्थीको
सिकाइ सुधार्न विद्यालयमा नै बसेर छलफल गरौं । जनप्रतिनिधि र विज्ञको उपस्थितिमा
विद्यार्थिको नतिजा किन कमजोर भयो भनेर शिक्षक, विद्यार्थी र अभिभावकको बीचमा
अन्तरक्रिया गरौं । कर्मचारीहरु के कारणले आलोचित छन् केलाउने प्रयास गरौं ।
सेवाग्राहीको प्रतिक्रिया लिने गरौं र सकरात्मक सुझावहरुलाई ग्रहण गरौं । यसो गर्दा हाम्रो आलोचनात्मक चेतको पनि विकास हुन्छ । त्यसैले सबै
क्षेत्रमा धेरै औपचारिक कार्यक्रम र भाषणभन्दा अर्थपूर्ण छलफल र बहसहरु जरुरी छन् ।
No comments:
Post a Comment