Visit us for:

Personal Narratives and Ruminations on English Language Teaching, Curriculum and School Leadership

Monday, 1 July 2024

शिक्षकलाई गाली गरेरै सुधार हुन्छ?

भर्खरै माध्यमिक शिक्षा परीक्षा २०८० को नतिजा प्रकाशित भयो।सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी ३५.७ प्रतिशत विद्यार्थीले मात्र ग्रेड प्राप्त गर्न सके।गणित, विज्ञान र अङ्ग्रेजी विषयको नतिजा कमजोर आयो।विगतका नतिजाहरु हेर्दा यो आश्चर्यजनक नभएपनि अङ्कलाई सबथोक मान्ने हाम्रा शिक्षाविदहरूका लागि गज्जबको खुराक प्राप्त हुने गरी नतिजा आयो। सुरुमै स्पष्ट पारिहालौं, यो ब्लगमा माध्यमिक शिक्षा परीक्षाको विश्लेषण गर्न खोजिएको छैन।नतिजा कमजोर आउनुको दोष अरुलाई थोपरेर पानी माथिको ओभानो बन्ने प्रयास पनि होइन।सायद म सँग पुरै नतिजाको विश्लेषण गर्न सक्ने क्षमता पनि छैन।मैले गर्न सक्ने वा गर्न प्रयास गर्ने भनेको आफ्ना अनुभवहरु सुनाउने मात्र हो।

जब नतिजा प्रकाशित भयो फेसबुकमा स्वघोषित विद्वानहरूका स्टाटस आउन थाले।विद्वानहरूका सन्तान सामुदायिक विद्यालयमा कतिले पढ्छन् मलाई जानकारी छैन तर यति विश्वास छ कि यिनिहरू आफूले विद्यालय शिक्षा पुरा गरेपछि सामुदायिक विद्यालय फर्केका छैनन्।वर्षभरी विद्यालयमा कस्तो पढाई भयो, यी विद्यालयमा को पढ्छन्, कस्तो सामाजिक धरातलबाट आउँछन् भन्ने हेक्का नभएकाहरु विश्लेषक बनेका छन्।रिपोर्टर्स क्लबमा आएर संस्थागत विद्यालयका मालिकले सामुदायिक विद्यालयको नतिजा विश्लेषण गरेको देख्दा उदेक लाग्छ।यो शिक्षक माथिको एकोहोरो आक्रमणले सामाजिक सञ्जालमा केही फलोअर्स बढ्लान्।पढ्न जान्ने नै हुनुहुन्छ खोजेर पढ्नुहोला, मनोविज्ञानको भाषामा यसलाई virtue signalling भनिन्छ।तथ्य बिर्सेर भिडलाई मनपर्ने शब्दहरु छानीछानी लेख्ने धन्दा।एकपटक सोच्नुहोला,यसो गर्दैगर्दा तपाईँले शिक्षक बन्न चाहने एउटा सानो जमातलाई झन् निराश बनाउन तर्फ लाग्नुभएको देखिन्छ।

जब गालीको वर्षा हुन थाल्यो,सबैभन्दा ठुलो आक्रमणमा सामुदायिक विद्यालयको जिम्मेवारी सम्हालेका प्रधानाध्यापकहरु पर्नुभयो।फेसबुकमा एकजना मित्रले लेखेको स्टाटसमा मैले कमेन्ट गरेपछि अर्का मित्रले सजग गराउनु भयो,यस्तो तरिकाले त प्रधानाध्यापकहरु डिप्रेशनमा जानसक्ने सम्भावना छ।अचम्म लाग्छ यस्तो अवस्था देखेर।यो गाली के का लागि?यो तुच्छ शब्द के का लागि?कुन शिक्षक होला जो आफ्नो विषयमा विद्यार्थीले राम्रो नतिजा ल्याएको हेर्न चाहदैन?कुन प्रधानाध्यापक होला जो आफ्ना विद्यार्थीको सबै विषयमा राम्रो ग्रेड आएको हेर्न चाहदैन?कम्तीमा यति बुझ्दिनुस् कि शिक्षक भन्दा पहिले हामी मान्छे हौं।हाम्रा पनि भावना छन्।कोही भर्खरै सेवा प्रवेश गरेका छन्।उत्प्रेरणा र प्रोत्साहन खोजेका छन्।लामो समयदेखि जो छन्,ऊनीहरूले पनि प्रयास गरेकै छन्।प्रयास गर्दागर्दै कमजोरी भए होलान्।तरिका मिलेको छैन होला।मिहिनेत पनि पुगेको छैन होला।स्रोत व्यवस्थापनमा ध्यान नपुगेको होला।लामो समय दरबन्दी खाली भए होलान् वा खाली बनाइयो पनि होला।विद्यार्थीलाई उत्प्रेरणा दिन सकिएन होला।तर शिक्षकको नियत माथि नै प्रश्न उठाउनु त सही छैन होला नि।प्रयास गर्दागर्दै नसकेको आफ्नै उदाहरण दिन्छु।परीक्षामा सहभागी भएका २९ जना विद्यार्थी मध्ये ९ जनाले ग्रेड प्राप्त गर्न सकेनन्।केही हदसम्म परीक्षा नजिकिदै गर्दा अनुमान पनि गरिएको थियो।पढाइमा कमजोर एकजना विद्यार्थीलाई अतिरिक्त कक्षामा उपस्थित नभएको देखेपछि मैले कारण सोधेँ।आमाले पैसा तिर्न नसक्ने भनेपछि कक्षामा आउन नसकेको जवाफ पाएँ।पैसा तिर्नु पर्दैन तर नियमित विद्यालय आउनुपर्छ भन्दा पनि विद्यार्थी नआएपछि अभिभावकलाई फोन गरेँ।उत्तर आयो,बिहान काम धेरै हुन्छ, पठाउन मिल्दैन।अझै एकपटक सम्झाउने प्रयास गरेको भए हुने रहेछ भन्ने लागेको छ।यस्ता धेरै उदाहरण छन् जहाँ कतै तरिका पुगेको छैन, कतै बुझाउन सकिएको छैन।

विद्वान विश्लेषकज्यूहरू,सार्वजनिक शिक्षा नै ध्वस्त पार्ने यहाँहरुको उद्देश्य हो भने मलाई केही भन्नु छैन।यी सार्वजनिक विद्यालय नै आवश्यक देख्नुभएको छैन भने पनि मलाई भन्नु केही छैन।हामी श्रमको सम्मान गर्छौं।हामीले तपाईँहरूकै जस्तो धन्दा गर्नु पर्दैन।केही न केही गरेर जीवन चलाउन सक्षम छौं।यति भन्दै गर्दा सामाजिक सञ्जालमा तथ्याङ्कहरू प्रस्तुत गर्नुहुने,सुधारका लागि आफ्नो अनुभवका आधारमा सझाव दिनुहुने मित्रहरू तथा आदरणीय गुरूहरू प्रति हामी अनुग्रहित छौं।हामीलाई धेरै कुरा सिक्नु छ।हजुरहरूबाट सिक्न चाहन्छौं।

शिक्षक मित्रहरू तथा प्रधानाध्यापकज्यूहरू,सामुदायिक विद्यालयमा नतिजा सुधार गर्न त्यति सजिलो छैन भन्ने कुरा हामी सबैलाई थाहा छ।तर सुधार्न कसैले सक्छ भने त्यो हामीले नै हो।समस्या कहाँ छ, सबैभन्दा राम्रोसँग हामीलाई नै थाहा छ।समाधान के हुन सक्छन्,धेरै हदसम्म त्यो पनि थाहा छ।जहाँ प्रयास पुगेको छैन त्यहाँ प्रयास गरौं।नतिजा राम्रो नआउँदा हामीले २/४ दिन गाली खान्छौं।यी गाली सम्राटहरू अब केही दिनमै हराउँछन्।नतिजा राम्रो नआउँदा सबैभन्दा मारमा पर्ने हाम्रै विद्यार्थी भाइबहिनीहरू हुन्।यी विद्यार्थीको बारेमा चिन्ता गर्ने र सुधार्ने हामीले नै हो।राज्यको नीति सुधार्न सकिँदैन होला तर विद्यालयको सिकाइ सुधार्न सकिन्छ।हामीलाई थाहा छ,यो परीक्षा प्रणाली बेकामे छ तर यो सुधार्ने ठाउँमा हामी छैनौं।जो सुधार्ने ठाउँमा पुगेका छन् ऊनीहरूलाई सुधार्नु नै छैन।नीतिका बारेमा पनि चिन्तन गरौंला तर अहिलेका लागि जस्तो परीक्षा प्रणाली छ त्यसैमा राम्रो नतिजा ल्याउने प्रयास गरौं।

अन्तमा, धेरै विद्यार्थी उत्तीर्ण हुँदा अनावश्यक प्रचारबाजी गर्ने र अलि थोरै विद्यार्थी उत्तीर्ण हुँदा निराश हुने काम दुबै ठिक छैनन् जस्तो लाग्छ।आज नतिजा राम्रो ल्याउन नसकेका विद्यालयलाई हामी आफैले होच्याउने काम बन्द गर्नुपर्छ।हाम्रो बीचमा अस्वस्थ प्रतिस्पर्धाको लागि ठाउँ दिनु हुँदैन।आज सबै राम्रो छ भनेर सँधै राम्रो नहुन सक्छ।बरु एकअर्कालाई सहयोग गरौं।जे गरेका छौं, त्यो हाम्रो काम हो।राज्यको सेवासुविधा लिएपछि सबैले इमान्दार प्रयास गर्नुपर्छ।आजलाई यत्ति नै।आफ्नो स्वास्थ्यको ख्याल गर्नुस्।अल्छी लागिहाल्यो भने विद्यार्थीको अनुहार सम्झिनुस् अनि जाँगर चलाउनुस्।आफ्नो काममा रमाउनुस्,सब ठिक हुन्छ।हामी सबैको जय होस्।

1 comment: